काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारीको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलाई फोन गरी खेलाडीको उपचार कोषमा कांग्रेसतर्फबाट पाँच लाख रुपैयाँ सहयोग गरिने जानकारी गराएका छन्।
उहाँले लेखेका छन्, “देशको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान दिने प्रसिद्ध फुटबल खेलाडी साम्बालाई यस समयमा हामी सबैले साथ दिन आवश्यक छ। उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”
सावित्री भण्डारीले सोमबारमात्रै उपचारका लागि सहयोगको आग्रह गरेकी थिइन्। यसअघि काठमाडौं मेडिकल कलेज (केएमसी)ले पनि उनी नेपालमै उपचार चाहानु भए निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो।


