काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले दुर्घटनामा ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बस गएराति धादिङको भैंसीगौंडास्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १७ जनाको मृत्यु भएको छ भने ठुलो सङ्ख्यामा यात्रु घाइते भएका छन्।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, “पोखराबाट काठमाडौँतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराति दुर्घटनामा परी १७ जनाको ज्यान गएको खबरले मलाई अत्यन्त मर्माहत बनाएको छ। दुर्घटनामा जीवन गुमाउने यात्रुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै, घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”


