एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग, संयमतालाई कमजोरी नठान्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै कडा आपत्ति जनाएको छ।

एमालेका अनुसार गएराति तुलसीपुरमा रास्वपाका कार्यकर्ताले ‘सूर्य’ चुनाव चिन्ह अंकित झण्डा जलाएका हुन्। उक्त घटनाप्रति आपत्ति जनाउँदै एमालेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी भर्त्सना गरेको छ।

पार्टीले यस घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्यको संज्ञा दिएको छ। विज्ञप्तिमा लाखौं समर्थकको आस्थामा चोट पुग्ने गरी गरिएको यस्तो गतिविधि निन्दनीय रहेको उल्लेख गरिएको छ।

एमालेले यसलाई लोकतन्त्रको सीमाभन्दा बाहिरको कार्य भन्दै रास्वपामाथि मुलुकलाई अस्थिरतातर्फ धकेल्ने र चुनावी द्वन्द्व निम्त्याउने प्रयास गरेको आरोप लगाएको छ। साथै, आफू अनुशासित पार्टी भए पनि संयमतालाई कमजोरी नठान्न चेतावनी दिँदै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

प्रकाशित: शुक्रबार, फाल्गुण ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय