काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानअनुसार, चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामालाई पहिले पक्राउ गरिएको थियो। उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो।
त्यसै क्रममा चन्द्रपुर–४ गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई पनि नियन्त्रणमा लिइएको थियो। उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याकिङका लागि प्रयोग गरिने प्लास्टिकका टुक्रा बरामद भएको छ।
पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा प्रहरीले चन्द्रपुर–१ बाट २९ वर्षीय प्रशान्त तामाङलाई पनि समातेको छ। उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


