काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ।
निर्वाचन प्रचार–प्रसारका लागि मतदान मितिभन्दा १५ दिन अघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा आयोजना गर्न र सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाइने कानुनी व्यवस्था छ।
सोही अनुसार, आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन्। यस अवधिभित्र उम्मेदवारहरूले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पनि पाउनेछन्।
निर्वाचनको निष्पक्षता र निष्ठालाई उच्च प्राथमिकतामा राख्दै आयोगले सबै दल, उम्मेदवार र सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ। आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र पनि परिचालन गरेको छ।
उल्लङ्घन भएमा आयोगले स्पष्टीकरण सोध्ने, प्रमाण र अवस्था हेरेर सचेत गराउने, दण्ड जरिवाना लगाउने र आवश्यक परे उम्मेदवारी खारेज गर्ने कानुनी व्यवस्था छ।
दल तथा उम्मेदवारहरूले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत प्रचार–प्रसार गर्न सक्नेछन्। साथै, आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा भएको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।
निर्वाचनलाई असर गर्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यममार्फत फैलाइने मिथ्या सूचना, दुष्प्रचार वा द्वेषपूर्ण अभिव्यक्तिमा पूर्ण प्रतिबन्ध रहेको आयोगले स्मरण गराएको छ।


