काठमाडाैं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम असुली ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा तामाङ रहेका छन्।
रुपेश काभ्रेको पाँचखाल नगरपालिका–३ का स्थायी बासिन्दा हुन् भने हाल काठमाडौँ महानगरपालिका–३२ मा बस्दै आएका थिए। यस्तै, हिरा तामाङ धादिङको खनेबास घर भई काठमाडौँको तारकेश्वर नगरपालिका–६ मा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार रुपेशले अष्ट्रेलिया पठाइदिन्छु भनी एक जनाबाट ९ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। त्यसैगरी, हिराले स्लोभाकिया पठाइदिने आश्वासन दिँदै एक जनाबाट ८ लाख ५० हजार रुपैयाँ असुल गरी विदेश नपठाएको पाइएको छ।
उनीहरूले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी अन्ततः सम्पर्कविहीन भएको पीडितहरूको उजुरी थियो। सोही उजुरीका आधारमा अनुसन्धान अघि बढाई काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


