काठमाडौँ । नेपाल टेलिकमले २२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूका लागि विभिन्न आकर्षक अफर सार्वजनिक गरेको छ।
टेलिकमले बिहीबारदेखि सात दिनसम्म लागू हुने सब्सक्रिप्सन अफर ल्याएको हो। यसअनुसार, माघ २२ देखि माघ २८ सम्म डबल टु प्याकमा जीएसएम पोस्टपेड र प्रिपेड ग्राहकहरूले २२२ रुपैयाँमा २२ दिनको समयावधिका लागि २२ जिबी डाटा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, डेली टु प्याक अन्तर्गत २२ रुपैयाँमा दैनिक २ जिबी डाटा उपलब्ध हुनेछ। सेलिब्रेशन कम्बो प्याकमा २२२ रुपैयाँमा २२ दिनको अवधि, सबै नेटवर्कमा २२२ मिनेट भ्वाइस, ४ जिबी डाटा र २२२ वटा एसएमएस सेवा प्रदान गरिनेछ।
हाल ९० रुपैयाँमा उपलब्ध प्रिपेड सिम कार्ड अब २२ रुपैयाँमै नेपाल टेलिकमका सबै काउन्टरबाट उपलब्ध हुनेछ। यो योजना माघ २२ देखि फागुन १४ गतेसम्म लागू हुनेछ।
एफटीटीएच सेवामा नयाँ जडान गर्ने ग्राहकका लागि ५०० रुपैयाँको जडान शुल्क माघ २२ देखि फागुन २२ गतेसम्म नि:शुल्क गरिएको छ। विद्यार्थी अफरको समयावधि २०८२ फागुन २२ सम्म थप गरिएको छ।
माघ २१ सम्म वार्षिक वा बहु–वार्षिक एफटीटीएच डाटा सेवा प्रयोग गरिरहेका ग्राहकको मोबाइलमा २२ जिबी बोनस डाटा प्रदान गरिनेछ। माघ २२ देखि २८ सम्म नयाँ जडान वा नवीकरण गर्ने ग्राहकलाई पनि भोलिपल्टै बोनस उपलब्ध हुनेछ।
त्यसैगरी, माघ २२ देखि २८ सम्म १ महिना वा ३ महिनाको डाटा प्याकेज लिएका ग्राहकले वार्षिक वा बहु–वार्षिक प्याकेजमा नवीकरण गर्दा २२ जिबी बोनस डाटा पाउनेछन्। माघ २८ सम्म डिमाण्ड पोर्टलमा दर्ता गर्ने नयाँ ग्राहकलाई पनि ७ दिनको अवधि सहित बोनस डाटा दिइनेछ।
पुरानो बाँकी बक्यौता असुलीमा आर्थिक वर्ष २०७९/८० सम्मको रकम माघ मसान्तसम्म भुक्तानी गरेमा लाग्ने जरिवाना २०८२ चैत मसान्तसम्मका लागि छुट दिइएको छ।


