काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ बाहिर मतदाता नामावली भएका कार्यकर्तालाई आफ्ना निर्वाचन क्षेत्र फर्केर प्रचार प्रसारमा सक्रिय हुन निर्देशन दिनुभएको छ।
पार्टीको झापा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पेशा र व्यवसायका कारण काठमाडौं आएका कार्यकर्तालाई निर्वाचन क्षेत्रमा समय निकालेर जान, पार्टीको पक्षमा माहोल बनाउन, आफन्त र साथीभाइसँग भेटघाट गर्न तथा पार्टी र नेतृत्वविरुद्धका भ्रम चिर्न आग्रह गर्नुभएको हो।
अध्यक्ष ओलीले अनुभव नभएका व्यक्तिहरूले देश चलाउन सक्दैनन् भनी व्यंग्य गर्दै भन्नुभयो, “जहाजमा यात्रुको रुपमा रहेको व्यक्तिले म जहाज उडाउन सक्छु भने पाइलट सिटमा बस्यो भने के हुन्छ? त्यस्तो जहाजमा कोही चढ्लान् त? झुक्किएर चढे भने अवस्था के होला?” उहाँले कार्यकर्तालाई सोचविचारपूर्वक निर्णय गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीले निर्वाचन दुई चरणमा गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै भन्नुभयो, “प्रधानमन्त्रीले हिमालमा हिउँ पर्यो भने निर्वाचन दुई चरणमा हुन्छ भनेको सुनें, यो कुनै हालतमा स्विकार्य छैन।” साथै, निर्वाचन शतप्रतिशत निष्पक्ष, धाँधली रहित र मतदाता भय–त्रास तथा प्रलोभनबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले कार्यकर्तालाई उच्च मनोबलका साथ प्रचारमा लाग्न निर्देशन दिँदै भन्नुभयो, “विभिन्न विदेशी तत्वहरू आउन सक्छन्, तिनलाई चिन्नुहोस्। हामीले गरेका विकास, सुशासन र जनचेतनाका काम जनतालाई बुझाउनुहोस् र मतदाताको मन जित्नुहोस्।”
कार्यक्रममा पार्टीका सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री अग्नी खरेल लगायतले पनि कार्यकर्तालाई आफ्नो निर्वाचन क्षेत्र केन्द्रित भएर प्रचारमा लाग्न आग्रह गर्नुभएको थियो।


