काभ्रे । आदर्श विद्या मन्दिर स्कुलको २१औँ वार्षिकोत्सव तथा अभिभावक भेला प्याब्सनका केन्द्रीय उप–महासचिव भिमसेन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले विद्यार्थीमा सकारात्मक सोच, सिकाइको अभ्यास र निरन्तर अध्ययनको आवश्यकता औँल्याउँदै व्यवहारिक तथा प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्ने बताए। पछिल्लो समय विद्यार्थीहरूमा पढ्ने र सिक्ने बानी कमजोर बन्दै गएको उल्लेख गर्दै उनले अध्ययनबिना कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न नसकिने स्पष्ट पारे । साथै उनले अनुशासन, नैतिकता र व्यवहारिक शिक्षालाई विद्यार्थी जीवनको आधार बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिवेदन संस्थापक प्रिन्सिपल रामप्रसाद तिमल्सिनाले प्रस्तुत गरे । उनले विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन–अध्यापन हुँदै आएको जानकारी दिँदै जिल्लामै संस्थागत विद्यालयतर्फ आईएसओ प्रमाणपत्र प्राप्त गर्ने पहिलो विद्यालय भएको बताए । साथै लोपोन्मुख संस्कृत विषयको अध्यापन सुरु गरिएको, विद्यालयको आफ्नै फुटसल मैदान रहेको तथा कक्षा ११ र १२ मा विज्ञान, कानून र व्यवस्थापन विषयको पठन–पाठन भइरहेको जानकारी गराए । विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि नियमित पढाइसँगै अतिरिक्त कक्षा, चित्रकला, शैक्षिक प्रदर्शनी, नृत्य प्रतियोगिता, वक्तृत्वकला तथा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको पनि उनले बताए ।
कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल, बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्ट, पनौती प्याब्सनका अध्यक्ष रामचन्द्र देउजा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहायक प्रिन्सिपल ललिता बञ्जाराले स्वागत मन्तव्य राखेकी थिइन् भने सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण आचार्यले गरेका थिए । सो अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।


















