मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार राति परेको भारी हिमपातका कारण दर्शनार्थीको भीड घटेको छ। कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध हुँदा जोमसोमबाट आएका सवारीसाधन माथि उक्लिन सकेका छैनन्।
सडकमा बाँक्लो हिउँ जमेपछि कागबेनीको पहिलो मोडदेखि सेल्फी पार्क, कालोभीर, खिङ्गा, झारकोट लगायतका स्थानमा यातायात अवरुद्ध भएको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। कतिपय भक्तजन कागबेनीबाटै घोडा चढेर मन्दिर पुगेका छन्।
मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार हिमपातपछि मन्दिरमा पर्यटक र भक्तजनको उपस्थिति न्यून रह्यो। हिमपात अघि दैनिक ५०० भन्दा बढी दर्शनार्थी आउने गरेका थिए भने बुधबारदेखि संख्या अत्यन्तै कम भएको छ। सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक क्रियाकलाप पूजापाठमै सीमित रहने बताइएको छ।
मुस्ताङ जिल्लाका अन्य क्षेत्रमा पनि झारकोट, खिङ्गा, रानीपौवा, पुराङ र छेङ्गुरलगायत गाउँहरू पूर्णरूपमा हिउँले ढाकिएका छन्। मन्दिर परिसर, १०८ धारा र स्नानकुण्डमा हिउँ जम्दा दर्शन र स्नानमा समेत समस्या भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार छुसाङदेखि कोरला सडकसम्म दुई फिटसम्म बाँक्लो हिउँ जमेकाले सडक अवरुद्ध छ। मौसम खुलेमा मात्र हिउँ पग्लिएर सडक सञ्चालनमा आउन सक्नेछ। हिमपातका कारण मुस्ताङको माथिल्लो भेगमा जनजीवन प्रभावित बनेको छ।


