मौसम प्रणाली कमजोर बन्दै, तर चिसो अझै बढ्ने पूर्वानुमान

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली विकास भएपछि आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात भएको छ। अपराह्न काठमाडौँ उपत्यकामा पनि वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँमा २.२ मिलिमिटर, ललितपुर र भक्तपुरमा समान ४.८ मिलिमिटर वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटर मापन भएको जनाएको छ, जुन झण्डै भारी वर्षाको नजिक हो। यस्तै रुकुमको शेरागाउँमा ३८ मिलिमिटर र जाजरकोटमा ३३ मिलिमिटर वर्षा भएको छ।

बैतडीमा ३५.६, डडेलधुरामा ३३.२, बाजुरामा ३०.२, मनाङमा ३२.४ र डोल्पामा ३१ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन मध्यम वर्षाको श्रेणीमा पर्दछ। पश्चिम क्षेत्रका उच्च पहाडी तथा हिमाली भू–भागमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ।

विभागका अनुसार बागमती प्रदेशदेखि पश्चिमका अधिकांश जिल्लामा वर्षा भएको छ भने करिब १०० वर्षा मापन केन्द्रमा १० देखि ३० मिलिमिटरबीच वर्षा अभिलेख गरिएको छ, जुन हल्कादेखि मध्यमसम्मको वर्षा हो।

मौसमविद् वरुण पौडेलका अनुसार प्रणाली विस्तारै पूर्वतर्फ सर्दै गएको छ। तराई र कोशी प्रदेशमा भने कम वर्षा हुने देखिएको छ। पछिल्लो एक घण्टामा गण्डकी र बागमती प्रदेशका जिल्लामा भने बढी वर्षा भएको जानकारी दिइएको छ।

विभागले आज रातिदेखि मौसम प्रणाली कमजोर हुँदै जाने र क्रमशः मौसम खुल्दै जाने जनाएको छ। यद्यपि चिसो भने अझै बढ्ने र केही दिन मौसम बदली नै रहने अनुमान गरिएको छ।

आज राति देशका पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

भोलि बिहीबार तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्हरूले बताएका छन्।

 

प्रकाशित: बुधबार, माघ १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय