हिमपातसँगै किसानमा आशा, स्याउदेखि गहुँबाली सप्रने अपेक्षा

मुस्ताङ। मङ्गलबार रातिदेखि उत्तरी तथा हिमाली जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । हिमपातका कारण डाँडाकाँडा पूर्ण रूपमा सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र प्रहरी कार्यालयका अनुसार भारी हिमपातका कारण मुस्ताङको कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको जनाइएको छ ।

हिमपातसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायतका बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले जानकारी दिनुभयो ।

यसैगरी, सिमकोटस्थित रासस समाचारदाताका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि मङ्गलबार रातिदेखि बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ । हिमपातका कारण हवाई सेवा अवरुद्ध हुनुका साथै लिमी, न्यालु, यारी र हिल्सा जाने सडकसमेत बन्द भएका छन् ।

त्यस्तै, बाजुराबाट प्राप्त विवरणअनुसार बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट तथा बुढीनन्दाको कुरु गाउँमा जनजीवन प्रभावित भएको छ ।

वर्षासँगै भएको हिमपातले गहुँबाली सप्रने अपेक्षा बढेको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई बताउनुभयो ।

प्रकाशित: बुधबार, माघ १४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय