मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। डाँडाकाँडा पूरै सेताम्मे भएका छन् भने अधिकांश स्थानमा वर्षा पनि परेको छ। सशस्त्र प्रहरी कार्यालयका अनुसार भारी हिमपातका कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ।
हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुजस्ता बाली सप्रने आशा भएको गाउँपालिका कृषि शाखा प्रमुख रोशन थकालीले जानकारी दिए। त्यस्तै, सिमकोटस्थित राससका अनुसार हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ। हिमपातका कारण हवाई सेवा अवरुद्ध भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन्।
बाजुराका राससकर्मीका अनुसार बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकमा पनि बाक्लो हिमपात भएको छ।
हिमपातले हिमाली भेगका विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट र बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ। वर्षासँगै परेको हिमपातले गहुँ बाली सप्रने आशा बढाएको कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले राससलाई बताए।


