बस्ती र विद्यालय सुरक्षित बनाउन नदी किनारमा तीन मिटर अग्लो कम्पोजिट पर्खाल निर्माण योजना

म्याग्दी । म्याग्दी नदीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा बस्ती संरक्षणका लागि पक्की पर्खाल निर्माणको काम सुरु भएको छ। जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालय, पोखराले मसारटोलस्थित म्याग्दी नदी किनारमा जोखिमयुक्त स्थानमा नदी नियन्त्रणका लागि संरचना निर्माण गर्न थालेको हो।

कार्यालयका इन्जिनियर नरजङ गुरुङका अनुसार, हिउँद लागेर नदीको पानीको सतह घटेपछि ठेक्का सम्झौता भएकी निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालित भएको छ। म्याग्दी नदीलाई ‘डाइभर्सन’ गरेर ‘कम्पोजिट’ प्रविधिबाट पर्खाल निर्माण गर्न जग खन्न थालिएको छ।

यस अन्तर्गत एक सय दुई मिटर लामो, भुइँमा चार मिटर चौडाइ र तीन मिटर अग्लो कङ्क्रिट पर्खाल निर्माण गरिनेछ। त्यसपछि त्यसमाथि ग्यावियन पर्खाल निर्माण हुनेछ। यस योजनाको लागत अनुमान ३ करोड ६८ लाख ८६ हजार ४८६ रुपैयाँ रहेको छ। आरआरसी–जेमी जेभीसँग २ करोड ७१ लाख ८०४४ रुपैयाँमा २०८२ वैशाख १० गते ठेक्का सम्झौता गरिएको छ। ठेक्का अवधि विसं २०८३ असार २० गतेसम्मको रहेको छ।

गतवर्ष म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो। मसारमा दुईवटा घर भत्केका थिए भने फापरखेतमा सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारका १७ घर नदी कटानको जोखिममा छन्। करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि कटानको जोखिममा छ।

वडाध्यक्ष अणबहादुर खड्काका अनुसार, यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण हुँदै आएको थियो। तर गतवर्षदेखि पक्की पर्खाल निर्माण सुरु गरिएको हो। तातोपानी म्याग्दी नदीको प्रमुख पर्यटकीयस्थल पनि भएकाले यस संरचनाले सुरक्षा र पर्यटन दुवैमा योगदान पुर्याउनेछ।

गत आव २०८१-८२ मा संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट नदी किनारमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र डिभिजन कार्यालयले पक्की पर्खाल निर्माण गरेका थिए। गत वर्ष संघीय सरकारको बजेटबाट सरस्वती माविको पछाडि ६६ मिटर लामो कम्पोजिट पर्खाल र प्रदेश सरकारको बजेटबाट उपल्लो तातोपानी बजार पछाडि ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण भएको थियो। यस वर्ष प्रदेश सरकारले विनियोजन गरेको २० लाख रुपैयाँबाट पनि थप संरचना निर्माणको काम अघि बढाइएको छ।

प्रकाशित: मंगलबार, माघ १३, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय