काठमाडौँ । काठमाडौँमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा स्कटल्यान्डले नेपाललाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्ड निर्धारित २० ओभरमा १४० रनमै अलआउट भयो।
नेपालका लागि मनीषा उपाध्यायले १७ रन खर्चेर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन् भने रुबिना क्षेत्रीले ३ विकेट हात पारिन्। रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान १–१ विकेट लिए। मनीषाले पहिलो ओभरमै दुई विकेट लिँदै नेपाललाई बलियो सुरुआत दिलाएकी थिइन्।
स्कटल्यान्डतर्फ प्रियानाज चट्टेर्जी ४५ रनमा अविजित रहिन् भने एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन जोडिन्। अब नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।


