राष्ट्रियसभा निर्वाचन: १८ पदमध्ये १७ का लागि आज मतदान

काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशको खस आर्यतर्फको एक पदमा भने निर्विरोध भएको छ। सो पदमा नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि आज सातै प्रदेशमा निर्वाचन हुन लागेको हो।

निर्वाचनका लागि सातै प्रदेशमा मतदानस्थल तोकिएको छ। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४, बागमती प्रदेशमा हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालय, गण्डकी प्रदेशमा पोखरास्थित प्रदेश निर्वाचन कार्यालय परिसर, लुम्बिनी प्रदेशमा घोराहीस्थित कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर र सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान हुनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।

प्रकाशित: आइतबार, माघ ११, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय