एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्दै

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा निर्वाचन क्षेत्र नम्बर ५ को दक्षिणी भेगका कार्यकर्तासँग भेटघाटमा जुट्दै हुनुहुन्छ।

जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका–५ स्थित स्कूलचौरको नमुना कृषि खेतीको सभाहलमा कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय गरिएको छ। अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा वडा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भेटघाटका क्रममा वडा पदाधिकारी तथा सदस्यहरूले मतदाताको मनोविज्ञान, विकासको अवस्था र पार्टी गतिविधिबारे अध्यक्ष ओलीलाई जानकारी गराउने छन्। जवाफमा अध्यक्ष ओलीले कार्यकर्ताका गुनासा, पार्टी नीति, देशको आवश्यकता तथा झापा–५ का लागि आफूले गरेका योगदानबारे जानकारी गराउने कार्यक्रम छ।

त्यसैगरी, अध्यक्ष ओलीले आजै भदौ २४ गते जेनजीको नाममा भएका आगजनी र तोडफोडका घटनाबाट क्षति पुगेका संरचनाको निरीक्षण गर्ने कार्यक्रम पनि रहेको छ। उक्त आन्दोलनका क्रममा गौरादह नगरपालिका, वडा नम्बर १, २ र ७ का कार्यालय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी र उपमेयर जलवर्षा राजवंशीलगायतका घरमा आगजनी गरिएको थियो।

यसअघि अध्यक्ष ओलीले मङ्गलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरूसँग पनि अलग–अलग छलफल गर्नुभएको थियो। यस पटक हरेक वडा कमिटीले अध्यक्षसँग स्वतन्त्र रूपमा भेटघाट गर्ने व्यवस्था मिलाइएको जिल्ला कमिटीले जनाएको छ।

प्रकाशित: बिहिबार, माघ ०८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय