बर्दिया । बुधबार साँझ बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृतक बारबर्दिया नगरपालिका–११ बेलभारकी ५५ वर्षीया खिदनी थारू रहेको प्रहरीले जनाएको छ। गाउँ नजिकैको आफ्नै बारीमा तोरी काटिरहेका बेला साँझ करिब ५ः३० बजे चितुवाले आक्रमण गरेको हो।
प्रत्यक्षदर्शीका अनुसार नजिकै अन्य किसानहरू पनि तोरी काटिरहेका बेला चितुवा एक्कासि थारूमाथि आक्रमण गर्न पुगेको थियो। चितुवाको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल, गुलरियामा राखिएको छ।
डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामगोपाल थारूका अनुसार पछिल्लो समय जिल्लामा चितुवासहितका वन्यजन्तुको आक्रमणका घटनाहरू बढ्दै गएका छन्।
गएको साउन महिनायता मात्रै बर्दियामा वन्यजन्तुको आक्रमणबाट पाँच जनाको ज्यान गइसकेको छ।


