काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम आयोजना गरी टोलीलाई औपचारिक रूपमा बिदाइ गरेको हो ।
विश्वकपअघि श्रीलंका र भारतमा अभ्यास शृंखला खेल्ने कार्यक्रम तय भएकाले टोलीलाई शनिबार नै बिदाइ गरिएको क्यानले जनाएको छ । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई विश्वकपका लागि सफलताको शुभकामना व्यक्त गरे ।
विश्वकपको समूह चरणमा नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटलीसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । त्यसअघि नेपाली टोलीले श्रीलंकामा श्रीलंका ‘ए’ टोलीसँग तथा भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ टोलीसँग अभ्यास खेल खेल्नेछ ।
विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा यसअघि नै भइसकेको छ ।


