काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गालीगलौजलाई राजनीति ठान्ने रोगी प्रवृत्तिबाट न मुलुक बन्छ न त राजनीतिक दल नै सुदृढ हुनसक्ने बताएका छन् । कांग्रेसलाई एकताबद्ध गर्न नसकेको प्रसङ्गमा आफू लक्षित आलोचना भइरहेका बेला उनले यस्तो टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा. भण्डारीले सबैलाई एउटै रेलमा अघि बढाउने चाहना भए पनि यात्रु बोलाउँदै–बोलाउँदै रेल छुटिसकेको उल्लेख गरेका छन् । यही शैलीमा अघि बढिरहे दुवै रेल यात्रुविहीन हुन सक्ने चेतावनी दिँदै उनले त्यसपछि मात्रै ‘सँगै हिँडौँ’ भन्ने भावनाको वास्तविक अर्थ बुझिने बताए । उनले आफ्नो प्रयास स्वार्थ वा व्यक्तिगत लाभका लागि नभई सत्य र जिम्मेवारीबाट प्रेरित रहेको दाबी गरेका छन् ।
आफूलाई व्यक्तिगत रूपमा गरिएको आलोचनाले कुनै असर नपर्ने उल्लेख गर्दै उनले विगतमा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, तथा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको कठिन समन्वयमा भूमिका खेलेको स्मरण गराए । त्यतिबेला कहिल्यै नकारात्मक भावना नआएको भन्दै उनले अहिले भने चारैतिर विकृति मात्र देखिएको टिप्पणी गरेका छन् ।
डा. भण्डारीले नेपाली समाज र शिक्षा प्रणालीप्रति समेत प्रश्न उठाउँदै सत्य र असत्य छुट्याउने विवेक किन कमजोर हुँदै गएको भन्ने गम्भीर जिज्ञासा व्यक्त गरेका छन् । सत्य नबुझी, जिम्मेवारी नबोकी गालीलाई नै राजनीति ठान्ने प्रवृत्तिबाट न पार्टी बलियो बन्ने न मुलुक र लोकतन्त्र सुरक्षित रहने उनको भनाइ छ ।
निर्वाचनको मुखमा भइरहेको आन्तरिक कलहप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नै घर भत्काएर जनताको विश्वास जित्न सकिन्छ भन्ने भ्रम कसले फैलायो भन्ने प्रश्न पनि उठाएका छन् । अन्त्यमा उनले समय अझै बाँकी रहेकाले सबैले आत्ममूल्याङ्कन गर्दै विनाश होइन निर्माण रोज्न, विवेकमा फर्कन र दोषी हामी सबै भएको स्वीकार गर्न आग्रह गरेका छन् ।


