काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नेपालीकै नेतृत्वमा सरकार हुनुपर्छ र अन्य कसैले सरकार बनाउने भए त्यसलाई ढाल्ने आफ्नो अडान स्पष्ट गर्नुभएको छ।
४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो कि नेपालमा नेपालीका सरकार हुनुपर्छ भन्ने अभियान अहिले पनि जारी छ। उहाँले विगतमा राजनीतिक संघर्षका क्रममा घर, पार्टी कार्यालय, कार्यपालिका, न्यायपालिका र राष्ट्रिय उद्योगमा भएको आगजनी तथा तोडफोडको कुरा स्मरण गर्दै अहिले नेपालको शासन प्रणाली जथाभावी रहेको टिप्पणी गर्नुभयो।
अध्यक्ष ओलीले भन्नुभयो, “अहिले कसैको सम्पत्ति खाएको भए पनि मुद्दा लाग्दैन, हिजोका अभियोग सच्याइन्छ र चुनावका लागि त्यस्ता मान्छेलाई हिरो बनाइन्छ। हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ। अरुको सरकार बन्न दिँदैनौँ। बन्यो भने ढाल्छौँ। नयाँ पुस्ता सचेत रहनु आवश्यक छ। यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो। यसलाई बचाउनु हाम्रो दायित्व हो।”
साथै, उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सङ्गठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयमा आपत्ति जनाउँदै महान्यायाधिवक्ताको कार्यालयलाई इतिहासकै लागि लज्जाको विषय भएको उल्लेख गर्नुभयो। उहाँले प्रश्न गर्नुभयो, “जनताको हिनामिना भएको पैसा कस्ले तिर्छ? महान्यायाधिवक्ताले तिर्छ?”
अध्यक्ष ओलीले आफ्नो पार्टीको इतिहासमा राष्ट्रिय स्वतन्त्रता र समृद्धिका लागि गरिएको संघर्षको स्मरण गर्दै फेरि पनि निर्भयतापूर्वक अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो। उनले २०४० साल पुस ३० गते सिन्धुपाल्चोकको पिस्करमा भएको हत्या काण्ड र सहिदको बलिदानलाई सम्झँदै नयाँ पुस्ताले कर्तव्यनिष्ठ भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो।


