काठमाडौँ । मुलुकको प्रदेश संरचना खारेज गरी सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमा सामूहिक सन्देश पठाउने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
चितवन स्थायी घर भएका सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसारबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
गाडी व्यवसायमा संलग्न ३४ वर्षीय सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख एसएमएस पठाएको खुलेको छ । उनले आफैंले ५० लाख मानिसलाई सन्देश पठाएको स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार उक्त सन्देशमार्फत जनतालाई आतङ्कित बनाएको आरोप सेढाईंमाथि लागेको छ । उनले पठाएको सन्देशमा प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित प्रणालीसहित सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गरिएको थियो ।
त्यसैगरी, सेढाईंले पुस ३० गते दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन म्यासेजमार्फत आह्वान गरेको पनि प्रहरीले जनाएको छ ।


