काठमाडौँ । हरि बुढामगर कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोबीच अन्टार्कटिकाको माउन्ट भिन्सन आरोहण गरी स्वदेश फर्किएका छन्।
समुद्री सतहदेखि ४ हजार ८९२ मिटर उचाइमा रहेको माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गरेसँगै पूर्व गोर्खा सैनिकसमेत रहेका हरि बुढामगरले विश्वका सातै महादेशका अग्ला चुचुरो आरोहण गर्ने उपलब्धि हासिल गरेका छन्। ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका हरि आज विश्व समुदायका लागि साहस, दृढता र प्रेरणाको प्रतीक बनेका छन्।
आफ्नो अनुभव सुनाउँदै उनले भने, “यो उपलब्धि हासिल गर्नु अत्यन्त कठिन थियो। तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोका कारण मेरा औँलाहरू जमिरहेका थिए र अनुहारमा चिसोको जलन भइरहेको थियो। पटक–पटक आफैँमाथि शंका लाग्थ्यो। भगवानमा विश्वास नगर्ने म पनि सफल होइयोस् भनेर मनमनै प्रार्थना गरिरहेको थिएँ।”
बुढामगरका अनुसार तीव्र हावा र अत्यधिक चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासकै कारण उनले यो चुनौती पार गर्न सके। युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उनले हरेक यात्रामा चुनौती अपरिहार्य हुने र त्यसलाई पार गर्न आत्मविश्वास, निरन्तरता तथा अथक प्रयास आवश्यक हुने बताए।
यसअघि उनले १९ मे २०२३ मा विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५ मिटर), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९० मिटर) र २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१ मिटर) को सफल आरोहण गरेका थिए। साथै उनले न्यु गिनीको पुन्चाक जयु (४,८८४ मिटर) र १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्यांक (४,८०९ मिटर) पनि सफलतापूर्वक आरोहण गरेका छन्। गत बुधबार अन्टार्कटिकाको माउन्ट भिन्सन चढ्दै उनले सातै महादेशका अग्ला चुचुरो आरोहणको अभियान पूरा गरेका हुन्।
यससँगै दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि विश्वका सातै महादेशका अग्ला चुचुरो आरोहण गर्ने नयाँ कीर्तिमान कायम गर्दै हरि बुढामगरले पर्वतारोहण इतिहासमा एक ऐतिहासिक उपलब्धि थपेका छन्।


