काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि भरपर्दो सुरक्षाको व्यवस्था भएको जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, “सुरक्षाकै कारण राजनीतिक दल वा उम्मेदवारले जनतासँग मत माग्न नसक्ने वा मतदाताले मतदान गर्न नसक्ने अवस्था आउने छैन।”
उनका अनुसार एकीकृत सुरक्षा योजनाअनुसार चारै सुरक्षा निकायले समन्वय गर्दै काम गरिरहेका छन् र सरकारले आवश्यक स्रोत र साधन उपलब्ध गराइसकेको छ।
भट्टराईले थपे, “राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरूले निर्भयतापूर्वक आफ्ना विचार वा प्रचार जनता र मतदातासम्म लैजान सक्ने अवस्था छ। सुरक्षा निकाय चनाखो भएर काम गरिरहेको छ र सरकारले पूर्ण सहयोग दिएको छ।”


