बाँकेमा आमाको नामबाट पहिलोपटक वंशजलाई नागरिकता

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ। प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारीटोलका २४ वर्षीय मोहन गोडीयालाई आज उनकी ४६ वर्षीय आमा मायाकुमारी गोडीयाको नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरेका छन्।

नागरिकता प्राप्त गरेपछि गोडीयाले आफूलाई राज्यको वास्तविक नागरिक भएको महसुस भएको बताए। उनले भने, “१७ वर्षको उमेरदेखि खेलकुदमा सक्रिय भएँ, तर कागजात अभावका कारण अवसर गुमाएँ। नागरिकता पाएपछि जीवनको ठूलो बाधा हटेको महसुस भयो।”

प्रमुख जिल्ला अधिकारी तामाङले संविधान र कानुनअनुसार नागरिकको पहिचान सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै प्रशासनले नागरिकका हकअधिकार सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले नागरिकता वितरण प्रक्रियालाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउँदै संवेदनशील रूपमा सम्बोधन गरिरहेको जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय बाँकेले सेवा प्रवाह व्यवस्थित गर्दै नागरिकका गुनासो तत्काल सम्बोधन गर्ने, अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्ने नीति लिएको छ।

प्रकाशित: बिहिबार, पौष २४, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय