काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षाको प्रयोजनमा नमूना मतपत्र छपाइ कार्य सम्पन्न भएको छ।
निर्वाचन आयोगका अनुसार, सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नेपाली सेनाको सुरक्षा व्यवस्थामा नमूना मतपत्र छापिएको हो। सूचना अधिकारी सुमन घिमिरेका अनुसार, समानुपातिक र प्रत्यक्ष दुवैतर्फ करिब १० लाख थान नमूना मतपत्र छापिएको छ।
आयोगको टोलीले छपाइ सम्पन्न नमूना मतपत्रको निरीक्षण गरी आजै आवश्यक जानकारी संकलन गरेको थियो।
समानुपातिक निर्वाचनको मतपत्र सेतो कागजमा कालो रङ्गमा तयार गरिएको छ भने प्रत्यक्ष निर्वाचन प्रणालीका लागि रातो रङ्ग प्रयोग गरिएको छ। घिमिरेले भने, “शुक्रबारदेखि समानुपातिक मतपत्र छपाइ सुरु हुनेछ।”


