काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले जिम्मेवारी सम्हालेपछि देशमा थप हत्या, हिंसा र आगजनीका घटना हुन नदिएको दाबी गरेका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा देशमा हिंसात्मक गतिविधि नियन्त्रणमा आएको, आगजनीका घटना रोकिएको र राजनीतिक प्रकृतिका थप हत्या हुन नदिएको बताए।
अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य निर्माण गरिएकोप्रति आपत्ति जनाउँदै उनले परिवर्तनलाई स्वीकार गरेमा मात्र द्वन्द्व दोहोरिन नदिने सम्भव हुने उल्लेख गरे।
उनले भने, “कतिपय परिवर्तनलाई स्वीकार गर्नुपर्छ। परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन। यो सुनिश्चितता यस सरकारले गरेको छ। अन्तरिम गृहमन्त्री आएपछि केही पनि भएन भनिन्छ, तर हिंसा भएन, आगजनी रोकियो, मानिस मर्न छाडे। थप हत्या र हिंसा भएन। यस्तो वास्तविकतालाई नदेख्ने भाष्य स्वीकार्य हुँदैन। विधिको शासन मिचिनु हुँदैन र विधिअनुसार नै कारबाही हुनुपर्छ। सुशासनको दायराभित्र के–के पर्छ भन्ने कुरा बुझ्न आवश्यक छ।”


