वीरगञ्जमा सर्वदलीय बैठकको सहमति: विरोध प्रदर्शन रोक, कर्फ्यू हटाइयो

काठमाडौँ । सर्वदलीय तथा सर्वपक्षीय बैठकले वीरगञ्जमा जारी विरोध प्रदर्शन रोक्ने सहमति गरेको छ।

आज पर्सा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको बैठकले सोमबारदेखि लागू गरिएको कर्फ्यू आज ३:३० बजेदेखि हटाउने निर्णय गरेको हो। बैठकमा भाग लिएका सबै पक्षले विगतका घटनाहरूलाई लिएर भविष्यमा कुनै पनि प्रदर्शन नगर्ने प्रतिबद्धता जनाएपछि कर्फ्यू हटाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनाएका अनुसार, वीरगञ्जमा दुई समुदाय बीच सहमति जुटेको र शान्तिसुरक्षाको अवस्था सुधारिएकोपछि कर्फ्यू हटाइएको हो। उनले भने, “अब यहाँको जनजीवन सामान्य तर्फ उन्मुख भइरहेको छ।”

बैठकले भविष्यमा प्रदर्शन गर्नका लागि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिनुपर्ने र ज्ञापनपत्र पेस गरेपछि मात्रै आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

यसैगरी, धार्मिक, सामाजिक सद्भावलाई प्रभावित गर्ने गतिविधिहरूलाई नियन्त्रण गर्न र कानुनी कारबाहीका लागि जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू र विभिन्न धार्मिक समुदायका अगुवाहरूको एक स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय पनि भएको छ।

पर्सा प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार, हिन्दु समुदायका तर्फबाट रञ्जित साह र रञ्जन सिंह, मुस्लिम समुदायका तर्फबाट महमद महबुब अलि (शेरु) र अलि असगर मदनी संयन्त्रका सदस्यका रूपमा रहनेछन्।

सो बैठकले सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्दा धार्मिक, सांस्कृतिक, सामाजिक सद्भावमा खलल नपुग्ने गरी जानकारी दिने अनुरोध गरेको छ। यसैगरी, धार्मिक र सामाजिक सद्भावलाई विथोल्न दुरुत्साहन गर्ने समूह र आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बताइएको छ।

साथै, बैठकले सबै पक्षलाई आफ्नो समूहका कमजोरीहरू विश्लेषण गर्दै आत्मसंयम र सद्भाव कायम राख्न प्रतिबद्धता जनाउन आग्रह गरेको छ। सबैले आ-आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्ने निर्णय पनि गरिएको छ।

प्रकाशित: मंगलबार, पौष २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय