काठमाडौँ । अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिम नयाँ फिल्म ‘पेट्रोल पम्प’ निर्माणमा जुटेका छन्।
यो फिल्म केकी अधिकारीको होम प्रोडक्सनबाट बन्नेछ। केकीले भनिन्, “बोक्सीको घर रिलिजको समयमा हामीले कुनै रोचक प्रोजेक्टको बारेमा सोचिरहेका थियौँ, र समय मिल्ने खण्डमा पुनः सहकार्य गर्ने कुरा गरेका थियौँ। अहिले यो अवसर ‘पेट्रोल पम्प’ मार्फत प्राप्त भएको छ।”
फिल्मको लेखन र निर्देशन सुलक्षण भारतीले गर्नेछन्, जबकि प्रोड्युसर भने केकी अधिकारी हुनुहुनेछ।
केकी अधिकारीले थपे, “कलाप्रतिको प्रेम, सिनेमाप्रतिको इमानदारी र कथाप्रतिको गहिरो सम्मानले हामीलाई फेरि एकसाथ बाँधेको छ। ‘बोक्सीको घर’लाई दर्शकले दिएको माया, विश्वास र साथले हामीलाई अझ जिम्मेवार महसुस गराएको छ। यसले हामीलाई नयाँ कुरा सोच्न र नयाँ प्रयास गर्न हिम्मत दियो।”
सोसल ड्रामा जनरामा आधारित यो फिल्म ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ। फिल्ममा सहभागी कलाकारहरूको नाम भने निर्माण टिमले हालसम्म सार्वजनिक गरेको छैन।


