गोकुल बास्कोटाले चुनाव प्रक्रियामा अस्पष्टता र बाह्य प्रभावको आशङ्का व्यक्त गरे

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको निर्वाचन प्रक्रिया अझै स्पष्ट दिशामा अघि बढ्न नसकेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले चुनावको प्रक्रिया सुरुङमार्गको प्रवेशमा अल्झिएको जस्तो देखिएको बताएका छन्। उनले चुनावको समयसीमा २०८४ सम्म सीमित रहने कि पछि अझै लम्बिने भन्ने अन्योल कायमै रहेको उल्लेख गरे। “नेपाली राजनीतिमा कहिल्यै अन्त नहुने र मनचिन्ते झोली नखुले हुने अवस्था देखिन्छ,” उनले लेखेका छन्।

उनका यी भनाइहरूले निर्वाचनको समयसीमा, राजनीतिक स्थिरता र निर्णय क्षमतामाथि प्रश्न उठाएका छन्। बास्कोटाले “दिल्ली टाढा छैन भन्छन्, के हो के हो?” भन्दै राजनीतिक निर्णयमा बाह्य प्रभाव र अनिश्चितताको आशङ्का पनि व्यक्त गरे।

बास्कोटाको यो अभिव्यक्ति हालको राजनीतिक अस्थिरता र निर्वाचन प्रक्रियाको अन्यौलतासँग जोडेर हेरिएको छ। यससँगै, केही निर्णय लिनु पर्छ कि दिल्ली धाउने नेपाली राजनीतिप्रति पनि उनले कटाक्ष गरेका छन्। अहिले नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आर्जु राणा देउवा दिल्ली भ्रमणमा छन्।

बास्कोटाले फेसबुकमा लेखेका छन्, “फागुनमा घोषणा भएको चुनाव सुरुङ मार्ग प्रवेश भएको छ, तर कुरा चौरासीसम्मै हो या पछिसम्म? चुनावकै प्रक्रिया चल्दै जाने हो भने नेपाली राजनीतिमा कहिल्यै अन्त नहुने, मनचिन्ते झोली नखुले हुने स्थिति देखिन्छ। दिल्ली टाढा छैन भन्छन्, के हो के हो?”

प्रकाशित: मंगलबार, पौष २२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय