काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा आज बेलुका ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको छ।
आज दिउँसो १ बजे देखि जारी निषेधाज्ञा लागू रहँदा पनि विरोध प्रदर्शन जारी भएपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्फ्यू आदेश लागू गरेको बताए। उनले दुई समुदायबीच हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न यो कदम उठाइएको जानकारी दिए।
प्रजिअ दाहालका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकी सो क्षेत्रभित्र कसैले आवतजावत, भेला, जुलुस, सभा वा घेराउ गर्न पाउने छैन। कर्फ्यू क्षेत्र पूर्वमा बसपार्क, पश्चिममा सिर्सियापुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शङ्कराचार्य गेटसम्म फैलिएको छ।
कर्फ्यू अवधिमा सुरक्षाकर्मीले अनधिकृत व्यक्ति देख्दा बल प्रयोग गर्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र आवश्यक भए नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न अनुरोध गरिएको छ। अत्यावश्यक सेवाका सवारीसाधन भने नियमित रूपमा सञ्चालन हुने प्रशासनले जनाएको छ।


