काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनुलाई देशका लागि गौरवपूर्ण क्षण भनेका छन्। उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अगाडि बढिरहेको सन्देश विश्वभर फैलाएको बताए।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विश्वकप ट्रफी सार्वजनिक समारोहमा राष्ट्रपति पौडेलले नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त हुँदै गएको र क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “क्रिकेटको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधार सुदृढ हुँदै गएको छ।”
राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरूको क्रमिक विकासलाई नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत ठाने। उनले नेपालमा ट्रफी ल्याएर नेपाली क्रिकेट र जनताको उत्साह तथा आत्मविश्वास बढाएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति धन्यवाद व्यक्त गरे।
साथै, राष्ट्रपति पौडेलले नेपालमा हुने महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने महिला र पुरुष राष्ट्रिय टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिएका छन्।


