बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गतको बन्दसूचीमा समावेश भएका उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी खाली भएको स्थानमा सम्बन्धित राजनीतिक दलले अर्को उम्मेदवार थप्न पाउने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त समानुपातिक उम्मेदवारको बन्दसूचीको मनोनयन दर्ता गरिएको छ। हाल ती सूचीमाथि रुजु गर्ने कार्य भइरहेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूचीमा कानुनअनुसार समावेशी समूहको अनुपात मिलेको छ वा छैन भन्ने विषयमा रुजु गरी यही पुस २० गतेभित्र सम्बन्धित दललाई जानकारी गराइनेछ। त्यसपछि दलहरूले आवश्यक सच्याएर पुस २७ गतेभित्र संशोधित बन्दसूची पुनः पेस गर्नुपर्नेछ।

संशोधित बन्दसूचीमा परेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस २८ गते त्यसका लागि समय दिइने आयोगले जनाएको छ। उम्मेदवारले नाम फिर्ता लिएको अवस्थामा आयोगले सम्बन्धित दललाई जानकारी गराउनेछ र दलले सो स्थानमा अर्को उम्मेदवारको नाम पठाउन सक्नेछ।

निर्वाचन आयोगले माघ ४ गते समानुपातिक प्रणालीतर्फको बन्दसूची सार्वजनिक गर्ने जनाएको छ। सार्वजनिक सूचीमा रहेका उम्मेदवार कानुनअनुसार अयोग्य रहेको भनी आम नागरिकले दाबीविरोध गरेमा छानबिन गरी माघ २० गते अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगका अनुसार त्यसपछि उक्त सूचीमा कुनै परिवर्तन हुने छैन।

प्रकाशित: शनिबार, पौष १९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय