दलहरू इतिहासकै कठिन क्षणबाट गुज्रिरहेका छन् : उपमहासचिव  भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दलहरू र व्यक्तिहरू इतिहासकै कठिन अवस्थाबाट गुज्रिरहेका बताएका छन्।

विभिन्न नेताहरूले एमाले परित्याग गरेको सन्दर्भमा उनले सामाजिक सञ्जालमार्फत भने, “यस वेला हामीले गम्भीर समीक्षा गरी सही निकासको खोजी गर्नुपर्नेछ र यसका लागि धैर्यता आवश्यक छ।” उनले पार्टीका नेता र कार्यकर्तालाई धैर्यता राख्न आग्रह गर्दै भने, “नेपाल राष्ट्र र यसको विभिन्न पक्षहरु अहिले गम्भीर परिस्थितिमा छन्, यसमा सबैको ध्यान र समझ आवश्यक छ।”

भट्टराईले थपे, “हामीले नेकपा (एमाले) को ११ औं महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय उठाएका थियौं, जसले नेपालको राजनीतिक वृत्त, संचार क्षेत्र, बुद्दिजीवी वर्ग र आम जनसमुदायको ध्यान आकर्षण गरेको छ।” उनले भने, “आगामी दिनहरूमा यो बहस निरन्तर जारी रहने छ।”

पार्टीको आन्तरिक संघर्षको सन्दर्भमा भट्टराईले भने, “हामी आश र त्रासको वातावरणबाट मुक्त भएर यो जोखिम उठाएका छौं।” उनले सम्पूर्ण पार्टीका कमरेडहरूलाई विचलित नहुन र पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गरे। अन्त्यमा उनले भने, “हामीले उठाएका मुद्दाहरू जनताको समर्थन पाएका छन् र चाँडै पार्टीबाट पनि अनुमोदन हुनेछन्।”

प्रकाशित: बुधबार, पौष १६, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय