काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई विश्वसामु जीवित राख्न सहयोग पुग्ने बताएका छन्।
मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले तमु समुदायको ‘तमु ल्होसार’ र दुरा समुदायको ‘म्हैप्रु नकुमा’ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले यी पर्वहरू हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै, यसले नेपाली समुदायबीचको पारस्परिक सद्भाव र सहिष्णुतालाई अझ बलियो बनाउने कामना पनि गरेका छन्।
प्रचण्डले नेपाली मौलिक संस्कार र संस्कृति देशको पहिचानका मजबूत स्तम्भ भएको उल्लेख गर्दै, यिनै विविधताले समाजलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे। उनले आपसी सद्भाव र सहअस्तित्वलाई नेपाली सांस्कृतिक जीवनको आधार मान्दै, परिवर्तनका हरेक आन्दोलनमा बहुल समुदायको भूमिका महत्वपूर्ण रहेको स्मरण गराए।


