लमजुङ । दोर्दी गाउँपालिकामा होमस्टे सञ्चालन गरिरहेका तथा नयाँ सुरु गरेका सञ्चालकहरूका लागि होमस्टे (घरबास) व्यवस्थापन तथा रैथाने पाक शिक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको छ।
ग्लोबल नेपाली सेफ फेडेरेसनका केन्द्रीय महासचिव तथा सेफ एसोसिएसन अफ नेपालका आजीवन सदस्य सेफ मोहन बहादुर गजुरेलले पुस ९ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको तालिममा ५५ प्रकारका स्थानीय रैथाने परिकारको व्यवहारिक प्रशिक्षण दिएका छन्।

तालिममा फर्सीको हलुवा, मकैको खिर, सिस्नोको सुप र पुरी, लोकल कुखुराको परिकार, फापरको रोटी र खिर, सागको पकौडा, अनदी चामलका परिकार, स्कुसको परिकार, कोदोको प्यानकेक लगायतका परिकार बनाउने सीप सिकाइएको सेफ गजुरेलले जानकारी दिए।
दोर्दी गाउँपालिका वडा नं. ७ अन्तर्गत माथिल्लो दैलुङमा बुधबारदेखि सुरु भएको पाँचदिने तालिममा वडा नं. १, ४ र ५ बाहेक होमस्टे सञ्चालन भएका अन्य वडाका सञ्चालकहरूको सहभागिता रहेको छ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले यसअघि ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रममार्फत होमस्टे प्रवद्र्धन सुरु गरिएको उल्लेख गर्दै अहिले व्यवस्थापन तथा खानपानसम्बन्धी तालिम दिन थालिएको बताए। उनले होमस्टे सञ्चालकहरूलाई पर्यटकसँग खुलेर संवाद गर्न र आत्मविश्वासका साथ स्वागत गर्न आग्रह गरे।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले पर्यटन प्रवद्र्धनमार्फत गाउँका नागरिकलाई स्वरोजगार बनाउने, आर्थिक उपार्जन गराउने तथा गाउँमै बस्ने वातावरण सिर्जना गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्दै आएको बताए। उनले गाउँको आर्थिक उन्नतिका लागि स्थानीय स्तरमै रोजगारी आवश्यक रहेको धारणा व्यक्त गरे।

दिगो पर्यटन परियोजनाको समन्वयमा दोर्दी गाउँपालिकाद्वारा आयोजना गरिएको उक्त तालिम पुस १३ गतेसम्म सञ्चालन हुनेछ। तालिममा होमस्टे महासंघ गण्डकी प्रदेश इन्चार्ज चुडामणि पौडेलले समेत प्रशिक्षण दिइरहेका छन्।
हाल दोर्दी गाउँपालिकाका वडा नं. २ को सल्लाबोट, ३ को श्रीमञ्ज्याङ लामागाउँ, ६ को ताँजे, ७ को लप्सीबोट र दैलुङ, ८ को टाप गाउँ र खिन्चोक गाउँ तथा ९ को माझगाउँ गरी ७ वटा गाउँमा होमस्टे सञ्चालनमा छन्। ती गाउँका ४० भन्दा बढी होमस्टे सञ्चालकहरू तालिममा सहभागी भएका छन्।


हाल दोर्दी गाउँपालिकाका वडा नं. २ को सल्लाबोट, ३ को श्रीमञ्ज्याङ लामागाउँ, ६ को ताँजे, ७ को लप्सीबोट र दैलुङ, ८ को टाप गाउँ र खिन्चोक गाउँ तथा ९ को माझगाउँ गरी ७ वटा गाउँमा होमस्टे सञ्चालनमा छन्।
ती गाउँका ४० भन्दा बढी होमस्टे सञ्चालकहरू तालिममा सहभागी भएका छन्।


