काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकलाई हाम्रा लागि प्रेरणाका स्रोत र समाज विकासका मार्गदर्शकका रूपमा सम्मान गर्दै भनेका छन्।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा राष्ट्रपति पौडेलले नेपाली समाजमा सुस्वास्थ्य, दीर्घायु र मर्यादित जीवनयापनको शुभकामना व्यक्त गर्दै माया, ममता र करुणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान र उचित संरक्षणको महत्त्वलाई जोड दिएका छन्। उनले भने, “ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा दिने अपेक्षासहित, राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गर्दछु।”
राष्ट्रपतिले सन्देशमा थपे, “ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उनीहरूलाई परिवार, समाज र राज्यबाट उचित सम्मान र संरक्षण गर्ने हो भने मात्र यो दिवस सार्थक हुनेछ।”
त्यसै गरी, राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल वातावरण बनाउनका लागि परिवारका सदस्य, समाज, सङ्घसंस्था र तीनै तहका सरकारबीच सहकार्य गर्दै ज्येष्ठ नागरिकलाई सम्मानित व्यवहार र सहज जीवनयापनको सुनिश्चिततामा सामूहिक प्रयास गर्न सबैलाई आग्रह गरेका छन्।


