काठमाडौँ । पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार, गत भदौ २३ र २४ गते जेनजी आन्दोलनको समयमा फरार भएका यी दुई कैदीलाई मङ्गलबार पक्राउ गरि वीरगञ्ज कारागारमा पठाइएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु कार्कीले विशेष सूचना प्राप्त भएपछि केन्द्रीय कारागारबाट फरार भएका यी दुई कैदीलाई पक्राउ गरिएको जानकारी दिएका छन्।
पक्राउ परेका कैदीहरूमा बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२५ का सुदामा पासवान पनि छन्, जो कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय भोगिरहेका थिए। उनी जेनजी आन्दोलनको दौरान फरार भएका थिए।
अर्का फरार कैदी, बारा परवानीपुर गाउँपालिका–२ का विवेकलाल साह कानु हुन्। उनी उच्च अदालत पाटन इजलास हेटौँडाको आदेश अनुसार रु ५० हजार धरौटी नतिरेपछि केन्द्रीय कारागार चलान भएका थिए। साह कानु पनि जेनजी प्रदर्शनको क्रममा फरार भएका थिए।


