काठमाडौँ । नेपालको राष्ट्रिय कराते टिम भारतको पुणेमा हुने अन्तरराष्ट्रिय खुला कराते च्याम्पियनसिप–२०२५ मा सहभागी हुन जाँदैछ। यो प्रतियोगिता जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालको नेतृत्वमा आयोजना हुँदैछ।
सङ्घले आज भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुस १४ र १५ मा हुने प्रतियोगितामा सहभागी हुन नेपाली टिम भारत जान लागेको जानकारी दिएको हो। प्रतियोगितामा नेपालसँगै भारत, श्रीलङ्का, बङ्गलादेश र भुटानका खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन्।
नेपाली टिमको नेतृत्व प्रमुख प्रशिक्षक काजी रानाले गर्नेछन्। टोलीमा २२ खेलाडी, ६ प्रशिक्षक र अफिसियल गरी २८ जनाको सहभागिता रहनेछ। सङ्घका सचिव गिरीप्रसाद पुनले यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्ने विश्वास व्यक्त गरे।
काजी रानाले प्रशिक्षकको चयन खेल कौशल, अनुशासन र शिक्षा हेरेर गरेको बताए, र च्याम्पियन बन्ने आत्मविश्वास व्यक्त गरे। लुम्बिनी प्रदेश सल्लाहकार भरतबहादुर केसीले कुनै पनि तहको सरकारले सहयोग नगरे पनि राम्रो प्रशिक्षण र लगनशीलताले उपाधि जित्न सकिने विश्वास व्यक्त गरे।
नेपाली टिमका खेलाडीहरू लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट चयन भएका हुन्। नेपाली खेलाडीहरू उमेर र तौल समूहमा स्पर्धा गर्नेछन्। यसअघि, २०१७, २०२१ र २०२३ मा नेपाली टिम च्याम्पियन बनेको थियो।


