काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन्। उनी कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार हुने कर्णाली प्रदेशस्तरीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्न सुर्खेत आएका हुन्।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, गृहमन्त्री अर्यालले भेरीगङ्गा नगरपालिका–८ स्थित निर्माणाधीन भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको निरीक्षण गरेका छन्।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायका अनुसार, मन्त्री अर्यालले जिल्ला प्रशासन र सुरक्षा निकायको निरीक्षणपछि आवश्यक निर्देशन दिने कार्यक्रम तय भएको छ। टोलीमा गृहमन्त्री अर्यालसँगै गृह सचिव रामेश्वर दङ्गालसहित १३ सदस्य सहभागी छन्।
बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन र प्रदेशको सुरक्षा चुनौतीबारे छलफल हुने जनाइएको छ। उक्त बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठजस्ता सुरक्षा अधिकारीहरूको पनि सहभागिता रहनेछ।


