काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगानाले आफ्नो नेतृत्वमा ‘संयुक्त जेनजी आन्दोलन’को घोषणा गरेका छन्। काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा आन्दोलनको औपचारिक घोषणा गरिएको हो।
यस समूहले राज्य पुनर्संरचना, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गरी संविधान पुनर्लेखन गर्नुपर्ने माग राखेको छ।
अर्को मुख्य एजेन्डा जेनजी आन्दोलनमा लागिएका मुद्दाहरू खारेज गर्न र धरपकडको अन्त्य गर्नुपर्ने र आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लंघन र घातक दमनको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।
समूहले भ्रष्टाचारको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न, त्यसका लागि शक्तिशाली भ्रष्टाचार निर्मुल आयोग गठन गरेर दोषीमाथि कारबाही गर्नुपर्ने पनि माग राखेको छ।
अतिरिक्त रूपमा, गैरआवासीय नेपालीप्रति अपनाइँदै आएको संकुचित दृष्टिकोणको अन्त्य गर्न र विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।


