काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो, र त्यसैअनुसार नेपालमा पनि यो दिवस मनाउनका लागि तयारी गरिएको छ। यस दिवसको महत्वलाई मान्यता दिँदै, संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायको रूपमा स्वीकार गरेको जनाएको छ।
गत वर्ष डिसेम्बर ७ मा, संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई आधिकारिक रूपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो। सोही वर्ष नेपालमा टुँडिखेलमा पहिलोपटक सरकारको आयोजनामा यो दिवस मनाइएको थियो, र यस वर्ष पनि सरकारकै पहलमा उक्त दिवस मनाइँदैछ।
नेपाललाई विश्वको ‘ध्यानको राजधानी’ का रूपमा विकास गर्नुपर्ने धारणा यस क्षेत्रमा लागेका व्यक्तिहरूको छ। एघार वर्षको निरन्तर प्रयासपछि, राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो। सन् २०१४ देखि यो प्रस्ताव अघि बढाइएको थियो, र गत वर्ष डिसेम्बर ७ मा, राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेको थियो, जसले ध्यान दिवसको आयोजना आरम्भ गर्यो।
यस अवसरमा आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ। त्यस्तै, दक्षिणकाली नगरपालिका-१ स्थित ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रिया र सामूहिक ध्यान कार्यक्रम भइरहेको छ। यस अवसरमा अन्य सरोकारवाला निकायहरूले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरेका छन्।


