काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा र पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन्।
झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने ‘भुल्का मार्ग’ आज उद्घाटन गर्दै उनले नेपालले विश्वका अन्य मुलुकहरू जस्तो प्रगति गर्न कुनै कारण नरहेको धारणा राखे। “यहाँ पर्याप्त प्राकृतिक स्रोत र सांस्कृतिक सम्पदा छ। स्रोतको सही सदुपयोग गरी शिक्षा, नीति, राजनीति र नेतृत्व सुधार्न सके मुलुक पाँचदेखि १० वर्षभित्र प्रगतिशील बन्न सक्छ,” उनले भने।
अध्यक्ष लिङ्देनले भ्रष्टाचार नियन्त्रण गरी सकारात्मक समन्वय र असल सोचका साथ देश विकासमा लाग्नुपर्नेमा जोड दिए। उनले हालका सडक निर्माणलाई मात्र विकास नभई त्यसको संरक्षण र प्रयोगबाट नागरिकको जीवनस्तर उकास्नुपर्ने पनि बताए।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिकामा बजेट कम पर्नुका कारण आन्तरिक आम्दानी पनि सीमित रहेको जानकारी दिए। उनले कक्षा १२ सम्म निःशुल्क शिक्षा र १० हजार लिटर पानी निःशुल्क उपलब्ध गराउँदै आएको बताए।
सङ्घीय सरकारले एक करोड १० लाख र गाउँपालिकाले एक करोड ५५ लाख ४३ हजारको लागतमा दुई हजार ३३० मिटर कालोपत्र र ३१० मिटर इन्टरलक सडक निर्माण गरिएको छ। सडकको चौडाइ ५.०५ मिटर र इन्टरलक सडक ६ मिटरको रहेको छ।
विसं २०८१ माघ २८ गते ठेक्का लिइएको सडक निर्माण कम्पनीले निर्धारित समयभन्दा दुई महिना अघि काम सम्पन्न गर्यो। निर्माण सम्पन्न सडकलाई ‘भुल्का मार्ग’ नाम दिइएको छ। उद्घाटन कार्यक्रमको सहजीकरण गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।


