मंगलबार, कार्तिक ११, २०८३
साउनयता जापानी इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु, १७ जना सङ्क्रमित अस्पतालमा उपचाररत

काठमाडौँ । जिल्लाका विभिन्न अस्पतालमा उपचाररत जापानी इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको छ। साउनयता अस्पताल भर्ना भएका १७ जना सङ्क्रमितमध्ये यो मृत्यु संख्या हो।

जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमध्ये दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन्। मृतकको उमेर अनुसार एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२ र एक जना ३९ वर्षका थिए।

सङ्क्रमित १७ मध्ये १० जना महिला र ७ जना पुरुष रहेका छन्। उनीमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५–६० वर्षका र नौ जना ६० वर्षमाथिका छन्। १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाएको भएपनि बाँकीमा स्पष्ट जानकारी उपलब्ध छैन। सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिकाका हुन्।

खैरहनी नगरपालिकाबाट चार जना, माडी नगरपालिकाबाट एक जना, रत्ननगर नगरपालिकाबाट एक जना, राप्ती नगरपालिकाबाट दुई जना र कालिका नगरपालिकाबाट दुई जना सङ्क्रमित रहेका छन्।

जापानी इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेबाट सर्ने कीटजन्य रोग हो। यो लामखुट्टे प्रायः घर बाहिर बस्न रुचाउने, साँझ र बिहान बढी सक्रिय हुने र सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्दा मानिसमा पनि सर्ने गर्दछ। धानखेतीमा पनि यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गर्दछ।

प्रकाशित: बुधबार, पौष ०२, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय