राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

आज आयोजित एक कार्यक्रमका क्रममा उपाध्यक्ष श्रेष्ठ र सदस्य प्रा. श्रेष्ठले प्रधानमन्त्री कार्कीसमक्ष शपथ ग्रहण गरेका हुन्। कार्यक्रममा आयोगका सदस्य एवं मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव रविलाल पन्थलगायत अन्य सरकारी उच्च अधिकारीहरू उपस्थित थिए।

शपथपछि, प्रधानमन्त्री कार्कीले नवनियुक्त उपाध्यक्ष र सदस्यलाई बधाई दिँदै उनीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिन्। उनले मुलुकको अवस्था राम्रोसँग अध्ययन गरी, युवाहरूको आकाङ्क्षाअनुसार योजनाहरू तयार गर्न निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “हामीले तपाईँहरूलाई विज्ञका रूपमा यो जिम्मेवारी दिएका हौँ र मुलुकको परिस्थितिबारे तपाईंहरू जानकार हुनुहुन्छ। यो परिस्थिति बुझेर हामीले प्रभावकारी कदम चाल्नुपर्छ। देशका योजनाहरू र कार्यक्रमहरूलाई युवाले गरेको आन्दोलनको भावनाअनुसार तर्जुमा गर्न आवश्यक छ। अहिलेको परिस्थितिलाई ध्यानमा राखेर मुलुकको साख उठाउने हिसाबले काम गर्नुपर्छ। मलाई विश्वास छ, तपाईंहरू यस कार्यमा सफल हुनुहुनेछ।”

सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यको रूपमा डा. प्रकाशकुमार श्रेष्ठ र प्रा. सुनीति श्रेष्ठलाई नियुक्त गरेको थियो।

प्रकाशित: मंगलबार, पौष ०१, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय