काठमाडौँ । आजदेखि नेपालमा हरेक चार वर्षमा गरिने बाघ गणना कार्य शुरु हुँदैछ। चितवनको सौराहामा एक औपचारिक कार्यक्रम आयोजना गरेर बाघ गणनाको उद्घाटन गरिएको हो।
यो गणना वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा र वन तथा भू–संरक्षण विभागको समन्वयमा गरिने छ। बाघ गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), डब्लू डब्लू एफ नेपाल र जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपाल लगायतका संस्थाहरूको सहयोग रहने छ।
यस कार्यमा नेपाली सेना, मध्यवर्ती र सामुदायिक वन उपभोक्ता समितिहरू पनि सहकार्य गर्दैछन्। २५० जना प्राविधिक कर्मचारी देशभर खटिएर साढे दुईदेखि तीन महिनामा गणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।


