काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भव्य र आकर्षक वातावरणमा आयोजना गरिएको छ। महाधिवेशन स्थलमा प्रवेश गर्ने बित्तिकै विभिन्न गीत र सङ्गीतका धुनले वातावरणलाई जीवंत बनाएको छ। राष्ट्रियगानदेखि लोक, आधुनिक र शास्त्रीय सङ्गीतको सुमधुर ध्वनीले महाधिवेशन स्थललाई रमणीय बनाएको छ।
महाधिवेशन स्थलको साजसज्जा निकै आकर्षक र सुसज्जित छ। महाधिवेशन प्रतिनिधिहरू हिँड्ने बाटो विशेष रूपमा निर्माण गरिएको छ। स्थलका फूलबारीमा प्रजा परिषददेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरूको तस्बीर र इतिहास सम्बद्ध ‘बोर्ड’ राखिएका छन्। विशेष रूपले, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीका तस्बीरहरू एकै स्थानमा राखिएका छन्।
महाधिवेशन स्थलका वरिपरि नेपाल कम्युनिष्ट पार्टीको ७६ वर्षको इतिहासका प्रमुख घटनाहरू र जानकारीका बोर्डहरू राखिएका छन्। यत्रा स्थलमा भक्तपुरको चाँगुनारायण मन्दिरको तस्बीर पनि राखिएको छ, जसले नेपाली सांस्कृतिक धरोहरलाई झल्काउँछ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी सदस्य अनिता पाण्डेले महाधिवेशन स्थलको व्यवस्थापनको प्रशंसा गर्दै भने, “महाधिवेशनको स्थानमा नेपालको संस्कृति झल्किने गरी सजावट गरिएको छ। यसमा स्वयम्सेवकहरूको भूमिका निकै सराहनीय छ र सूचना प्रविधिको उच्चतम प्रयोग गरिएको छ।” उनले महाधिवेशन उद्घाटन स्थलमा चाँगुनारायण मन्दिरको सजावटको विशेष प्रशंसा पनि गरिन्।
झापाबाट महाधिवेशनमा सहभागी भएका गणेश ढकालले महाधिवेशन स्थललाई निकै व्यवस्थित र भव्य भएको बताए। “यहाँ बस्न र कुराकानी गर्ने पर्याप्त स्थान छ, खानपानको व्यवस्था पनि सफा र स्वादिलो छ,” उनले भने।
महाधिवेशन स्थलमा पार्टीका झण्डाहरू फरफराइरहेका छन् र स्वास्थ्य उपचारका लागि छुट्टै कक्षहरूको व्यवस्था गरिएको छ। स्वयंसेवकहरू जताततै खटिएका छन् र खानेकुराका स्टलहरू पनि पर्याप्त रूपमा राखिएका छन्। मुस्लिम समुदायका लागि विशेष स्टलको व्यवस्था गरिएको छ।
महाधिवेशन स्थलभित्रका बगैँचामा आन्तरिक भेटघाट र छलफलका लागि खुला स्थानहरू तयार पारिएका छन्। सूचना प्रविधिको प्रयोग गर्दै ९० वटा विद्युतीय भोटिङ् मेसिनको व्यवस्था गरिएको छ। ‘म भोटिङ् मेसिनबाट मतदान गर्छु’ भन्ने ठूलो कक्ष पनि तयार गरिएको छ।
महाधिवेशन हल आकर्षक साजसज्जासहित सजाइएको छ। प्रवेशद्वारमा प्रतिनिधिहरूको ‘क्युआर’ कोड परीक्षण गरेर मात्रै भित्र जान सक्ने व्यवस्था गरिएको छ, जसले गर्दा बाहिरी व्यक्तिहरूलाई प्रवेश गर्न नदिइने सुनिश्चितता गरिएको छ।
महाधिवेशन स्थलमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा चारैतिर राखिएको छ, जसले महाधिवेशनमा विशेष ऊर्जा र रौनक थपेको छ।
महाधिवेशनले नेता, कार्यकर्ता र प्रतिनिधिहरू बीच भेटघाट, छलफल र चुनावी बहसको माहोल सिर्जना गरेको छ, र यसले महाधिवेशन स्थललाई विशेष चहलपहल र उत्साहमय बनाएको छ।


