गृहमन्त्री अर्याल: तोकिएकै मितिमा निर्वाचन गर्न सरकार दृढ

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार २१ फागुनमा निर्धारित प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न दृढ छ भन्ने कुरा बताएका छन्।

सोमबार कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि सरकार तयार रहेको र तयारीका लागि कार्थतालिका सार्वजनिक भइसकेको जानकारी दिए।

उनले भने, “निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ रहेको छ।” उनले शान्ति र सुव्यवस्था कायम राख्ने र निर्वाचनको वातावरण तयार गर्ने कार्यमा प्रदेश सरकारको पनि महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

गृहमन्त्री अर्यालले चुनावको पूर्व, दौरान र पछिका कार्यहरूमा प्रदेश सरकारको सक्रियता रहने गरी सुरक्षा संयन्त्र तयार पारिएको जानकारी पनि दिए। “केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत निर्वाचन सुरक्षा योजनाअनुसार प्रदेश सरकारले आफ्नो प्रादेशिक सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा ल्याउने छ,” उनले विश्वास व्यक्त गरे।

उनले सुरक्षा गोष्ठीको महत्वलाई पनि औंल्याए, जसमा गण्डकी प्रदेशका सुरक्षा चुनौतीहरूको विश्लेषण र रणनीति तय गर्ने, र निर्वाचनको लागि गरिएका तथा अझ गर्नुपर्ने तयारीका विषयमा खुल्ला छलफल गरिनेछ।

गृहमन्त्री अर्यालले सरकार गठन भएको तीन महिनामा गृह मन्त्रालयले सार्वजनिक कार्यालय र संरचनाहरूको पुनः निर्माण गरेर सुरक्षाको स्थिति सामान्यीकरण गर्न सफल भएको पनि बताए। “यसका लागि निर्माणमा सहयोग गर्ने निजी क्षेत्र र नागरिक समाजलाई धन्यवाद दिन चाहन्छु,” उनले भने।

अन्त्यमा, गृहमन्त्री अर्यालले जेनजी आन्दोलनसँग सम्बन्धित मागहरूलाई समाधान गर्न सरकारले कदम चालेको र सम्झौतासहितका कार्यहरूलाई कार्यान्वयनमा ल्याउन तयार रहेको पनि जनाए।

प्रकाशित: सोमबार, मंसिर २९, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय