सभामुख देवराज घिमिरेले सरकारमाथि संसदलाई बन्देज लगाउने प्रयासको आरोप लगाए

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारमाथि संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले प्रतिनिधिसभाको विघटनको कुनै सान्दर्भिकता नदेखिएको र त्यसलाई संसदीय व्यवस्थामाथिको प्रहार भनेका छन्। उनले भने, “२७ भदौमा संसदलाई विघटन गर्ने निर्णय गरियो, जसको साँचो सान्दर्भिकता छैन।”

घिमिरेले थपे, “अहिले सरकारले संसद र यसको सचिवालयमाथि आर्थिक र प्रशासनिक रुपमा अदृश्य बन्देज लगाउने प्रयास गरिरहेको छ। म सभामुखको हैसियतले स्पष्ट भन्न चाहन्छु, संसद कुनै एक शाखा होइन, यसलाई सरकारको अधिनमा राख्न सकिँदैन। शक्ति पृथकीकरणको सिद्धान्तअनुसार संसद आफैँमा पूर्ण स्वायत्त निकाय हो।”

उनले संसदको बजेटमा अर्थ मन्त्रालयको हस्तक्षेप, कर्मचारी सेवा र सुविधा लगायतका प्रशासनिक अवरोधलाई अप्रत्यक्षरुपमा व्यवस्थापिका नियन्त्रण गर्ने उल्टो प्रयास भनेका छन्। “यदि संसदको आर्थिक र प्रशासनिक नियन्त्रण सरकारको हातमा मात्र हुन्छ भने संसदले कसरी सरकारमाथि निष्पक्ष निगरानी र सन्तुलित काम गर्न सक्छ?” उनले भने।

सभामुख घिमिरेले संसदको सुधारको लागि तत्काल छलफल र कार्यान्वयन आवश्यक रहेको पनि जनाए।

प्रकाशित: आइतबार, मंसिर २८, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय