लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन, सुदूरपश्चिम लगातार उपविजेतामा

काठमाडौँ । लुम्बिनी लायन्सले साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ। लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन बनेको छ, जबकि सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो पटक उपविजेताको स्थान ओगटेको छ। कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रम्पलम्यानको शानदार बलिङ प्रदर्शनपछि लुम्बिनीले सुदूरपश्चिमलाई केवल ८५ रनमा समेटेको थियो।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले मात्र ९ ओभरमा पूरा गर्दै च्याम्पियन बन्यो।

लुम्बिनीले च्याम्पियन बन्ने क्रममा पछिल्ला ६ खेलमा लगातार जित हासिल गरेको थियो। लिग चरणमा प्रारम्भिक संघर्ष गरेपछि लुम्बिनीले सानदार पुनरागमन गर्दै एनपिएलको उपाधि जितेको हो। पहिलो खेलमा चितवन राइनोजलाई हराएपछि लुम्बिनीको लगातार तीन खेलमा हार भयो, जसले लिग चरणबाट बाहिरिनेसम्मको अवस्था सिर्जना गरेको थियो। तर, त्यसपछि लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो।

लुम्बिनीका ओपनर दिनेश अधिकारीले सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीलाई पहिलो ओभरमै ४ छक्का हान्दै लुम्बिनीले २७ रन जोडेको थियो। दिनेशले १३ बलमा १ चौका र ५ छक्का प्रहार गर्दै ४२ रन बनाए। उनले डार्शी सर्टसँग पहिलो विकेटका लागि ४ ओभरमा ५८ रनको साझेदारी गरे।

तर, हेम्नत धामीले पाँचौं ओभरमा सर्ट र दिनेश दुवैलाई आउट गर्दै साझेदारी तोडे। सर्ट १४ बलमा १३ रनमा आउट भए, जबकि दिनेशलाई हेम्नतले क्याच आउट गराए।

सुदूरपश्चिम रोयल्सले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा ८५ रनमा समेटिएको थियो। यो एनपिएल फाइनलमा बनाइएको कम से कम स्कोर हो।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। उनले ५१ बलमा १ चौका प्रहार गरे। कप्तान दीपेन्द्र सिंह ऐरीले २० बलमा १ छक्का हान्दै १३ रन बनाएका थिए। सुदूरपश्चिमका अन्य प्रमुख ब्याटर्स हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे।

लुम्बिनीका कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले उत्कृष्ट बलिङ गर्दै ३-३ विकेट लिए। रोहितले ११औं ओभरमा लगातार ३ विकेट लिएर ह्याट्रिक पनि पूरा गरे। उनले दीपेन्द्र सिंह ऐरी, दिपक बोहरा र पुनित मेहरालाई एकपछि अर्को आउट गरेका थिए। रोहितले ४ ओभरमा केवल १२ रन खर्चे।

रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए, जबकि शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए। तिलक भण्डारीले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए।

यसरी लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ८५ रनमा समेट्दै एनपिएलको उपाधि जितेको हो, र सुदूरपश्चिमलाई लगातार दोस्रो पटक उपविजेता बनेको छ।

प्रकाशित: शनिबार, मंसिर २७, २०८२

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय